समाचार

प्रदेशमा बजेट कम भएको प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरुको गुनासो

काठमाण्डौं, चैत २१ । मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग भने– प्रदेशलाई बजेट कम भयो, कम्तिमा ३३ प्रतिशत चाहियो
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुसँग आगामी वर्षको वजेट, नीति तथा कार्यक्रमका बारेमा छलफल गरेका छन् ।

विहीवार विहान बालुवाटरमा भएको छलफलमा मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तिमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका थिए ।

चालू आर्थिक वर्षको बजेट न्यून भएकाले त्यसलाई बढाएर आगामी आर्थिक वर्षमा कम्तिमा पनि ३३ प्रतिशत पु¥याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले चालू आर्थिक वर्षको बजेट न्यून देखिएको भन्दै संघीय सरकारको आलोचना गर्दै आएका थिए ।

त्यसैगरी मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषद बैठकले जारी गरेको २९ बुँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा विस्तृत छलफल गर्न आगामी बैशाख १२ र १३ गते राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने योजना तय गरिएको पनि मुख्य मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published.