खेलकुद

भद्रपुर झापा गोल्डकपः नेपाल पुलिस स्तब्ध, आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश

झापा । बिभागिय टोली नेपाल पुलिस क्लब काठमाडौंलाई स्तब्ध पार्दै आयोजक भद्रपुर ब्लेजर्स दोस्रो संस्करण भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा जारी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । यता प्रतियोगितामा सिधैं बाइ पाएर क्वाटरफाइनल खेलेको पुलिस प्रतियोगिताबाट बाहिरियो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा एक गोल थप्दै खेल २–० को अग्रता बनायो ।

भद्रपुरका आशिष चापागाईंलाई पुलिसका मानबहादुर परियारले पेनाल्टी एरियामा फाउल गरेपछि मिलन राईले अवसरको सदुपयोग गरे । दोस्रो हाफको अतिरिक्त समयमा पुलिसले एक गोल फर्कायो । भद्रपुरका किपर जियारत शेख चुकेपछि प्रशान्त कुँवरले गोल गरे ।

भद्रपुरले खेलमा केही अवसरहरू गुमायो । खेलको ४० औँ मिनेटमा पेनाल्टी एरियाबाट मिलन राईले प्रहार गरेको बल फस्र्ट बारमा लागेर फर्कियो । खेलको ४५ औँ पुलिसका गोलकिपर अमित टमाटा बिट भएपछि मिलन राईको प्रहार गोललाइनमा पुलिसका हेमन्त श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
खेलको अतिरिक्त समयमा विदेशी खेलाडी फोडे फोफोनाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल पुलिसका किपर टमाटाले रोके । खेलको ५४ औँ मिनेटमा पुलिसका अनुप लिम्बूको हेडर भद्रपुरका किपर शेखले पञ्च गरे । कृष्ण गुरूङको क्रस पासमा पेनाल्टी एरियाबाट लिम्बूले हेड गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच दुई गोलकर्ता मिलन राई भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

शनिबारको दोस्रो क्वाटरफाइनल खेल झापा ११ एफसी र चर्च ब्वाईच युनाइटेडबीच हुने गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने गर्नेछन् । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।