काठमाडौं, माघ ८ । राष्ट्रिय सभा चुनावको तयारी पूरा भएको छ । बिहीबार हुने चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । ‘भोलि हुने राष्ट्रिय सभा चुनावको सुरक्षा लगायत सबै तयारी पूरा भएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभा चुनावका लागि सोमबार राति १२ बजेपछि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचनको ४८ घण्टा अघिदेखि प्रचारप्रसार गर्न पाइदैन । आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न गराउन अपिल गरेको छ ।
आयोगले २७ पुसबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।
राष्ट्रिय सभाका ५९ सांसदमध्ये एकतिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।
जसअनुसार १९ सांसदको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । रिक्त १९ सदस्यमध्ये १८ जना चुनावमार्फत चयन हुनेछन भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रिय सभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष(उपाध्यक्ष, नगरपालिकाका प्रमुख(उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।
चुनावबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य सातजना निर्वाचित हुने छन् ।

