समाचार

अज्ञात समुह द्वारा झापाको दुई स्थानमा बम विस्फोट

झापा, भाद्र २३ । झापाको विर्तामोड र गौरादहमा अज्ञात समूहले आइतबार राति बम बिष्फोट गराएको छ। बम विष्फोटबाट बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा क्षति पुगेको छ । यस्तै गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा आइतबार राति साढे ११ बजे बम विष्फोट भएको छ। बम विष्फोटका कारण साहारा नेपालको गेट, गार्ड रुम, भवनमा प्रयोग गरिएका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार नगरपालिकाको गाडीमा राति साढे १२ बजे बम विष्फोट गराइएको हो। विष्फोटले नगरपालिकाकाको बा २ झ २५७० नम्बरको जिप पूर्ण रुपमा क्षति भएको छ। अधिकृत बस्ने घरमा अगाडि पार्किङ गरी राखिएको गाडीमा बिष्फोट गराइएको हो।
कार्यालयभित्र समेत शंकास्पद बस्तु हुनसक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली झिकाएको छ। सो स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यस्तै, घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ। घटनाको जिम्वेवारी कसैले लिएका छैनन्।

Leave a Reply

Your email address will not be published.