काठमाडौं, पुस २५ । नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले पार्टीका (ओली र प्रचण्ड–नेपाल) दुवै पक्षलाई लडाइँ बन्द गरेर पुन:एकठाउँमा आउन आह्वान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमै प्रचण्ड-नेपाल समूह र ओली समूहमा विभाजन भएकाे छ ।
दुवै समूहले एकअर्कालाई अवैधानिक र आफूलाई वैधानिक नेकपा भन्दै अलग-अलग कार्यक्रम गरिरहेका छन् ।
यी कुनै पनि पक्षमा नलागी ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’ सुरु गरेका गौतमले यसमा साथ दिन पार्टीका दुवै पक्ष र देश-विदेशमा रहेका नेकपा नेता/कार्यकर्तालाई आह्वान गर्दै सामाजिक सञ्जालमार्फत अपिल जारी गरेका हुन् ।
बुधबारको राष्ट्रियसभामा गौतमले पार्टीलाई पहिलेदेखि नै एकढिक्का बनाउन भूमिका खेलेको र अब पनि भूमिका खेल्ने उद्घोष गरेका थिए ।

