कला मनोरञ्जन

एलिना गुरुङ बनिन् ‘नेपाल स्टार’

काठमाडौं, माघ १७ । गायन रियालिटी सो ‘नेपाल स्टार’को विजेता पोखराकी एलिना गुरुङ भएकी छन्। काठमाडौंमा आज (शनिबार) सम्पन्न ‘ग्रान्ड फिनाले’मा उनले अन्य तीन फाइनलिस्टलाई पछि पार्दै उपाधि जितेकी हुन्।

विजेताको टुंगो दर्शकको भोटको आधारमा गरिएको थियो। उपाधिसँगै गुरुङले ३५ लाख रूपैयाँको चेक र एक करोड रूपैयाँको जीवन बीमा पाएका छन्।

सोको उपविजेता बनेका सुरेश लामा, सन्देश बम्जम लामा र लक्ष्मण लिम्बुले जनही पाँच लाख रूपैयाँकाे चेकसहित ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन्।

उनीहरूलाई सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्ट लगायतले पुरस्कार रकमकाे चेक हस्तान्तरण गरेका छन्।

रियालिटी सोमा रामकृष्ण ढकाल, अन्जु पन्त र आलोकश्री जज थिए।

उक्त सोको अडिसन २०७६ पुस तेस्रो साताबाट सुरु भएको थियो। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण गत चैतदेखि स्थगित भएको सो असोज पहिलो साताबाट पुनः सञ्चालन भएको थियो।

सो नेपाल टेलिभिजनबाट शनिबार साँझ ९ बजेबाट प्रसारण हुँदै आएको थियो।