देबु बानियाँ
काँकरभिट्टा, २६ फागुन । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २५ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संस्थाको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै मेयर आचार्यले काँकरभिट्टा खानेपानीले यस क्षेत्रका उपभोक्ताहरुको पानीको अपरिहार्यतालाई पुरा गर्न अहोरात्र गरेको योगदानको प्रशंसा गर्नु भयो । साथै उहाँले संस्थाको आगामी दिनको स्तरउन्नतीका लागि नगरपालिका सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष हर्क फ्याकले संस्थाको प्रतिबेदन वाचन गर्दै आफ्नो कार्यकालमा संस्थाले उल्लेखिय उपलब्धि हासिल गरेको र उपभोक्तहरुको पानीको मागलाई पुरा गर्दै आएको बताउनु भयो । साथै अध्यक्ष फ्याकले कोभिडको संक्रमणकालिन अवस्था उपभोक्ताहरुलाई पानीको शुल्कमा छुट, वडा मार्फत राहत वितरण, नगरपालिकाले सञ्चालन गरेको राहत कोषमा १ लाख सहयोग गरेको उल्लेख गर्नु भयो ।

सोही समारोहमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थाका संस्थापकहरु रामचन्द्र उप्रेती र धनप्रसाद केरुङ रहेका छन् । उनीहरुलाई ताम्रापत्र, दोसल्ला, अबिर र करुवासहित सम्मान गरिएको थियो । मेचीनगर ५ मा स्थापना हुन लागेको बोरिङका लागि जग्गा दान गर्ने जग्गादाता जसमाया आङ्बो लावतीलाई पनि सम्मान गरिएको छ ।

उक्त सम्मान पत्र परिवारका तर्फबाट जितबहादुर लावतीले ग्रहण गरेका थिए । यसैगरी, उत्कृष्ट कर्मचारीमा बुद्धराज लावतीलाई नगद ७ हजारसहित सम्मान गरियो भने सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजेता प्रदेश नम्बर १ का खेलाडी जो मेचीनगरको काँकरभिट्टा क्षेत्रका १२ जना थिए ।

उनीहरुलाई २५ हजार नगद सहित सम्मान गरियो । उक्त सम्मान पत्र नेपाल महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले ग्रहण गरेकी थिइन् भने अन्य खेलाडीलाई दोसल्लाले सम्मान गरिएको थियो । सम्मानित हुने व्यक्तिहरुको घोषणा कार्यालय प्रमुख दिपक पोखरेलले गर्नु भएको थयो ।

संस्थाका अध्यक्ष हर्क फ्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती, नेपाली कांग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेती, सम्मानित व्यक्तिहरु रामचन्द्र उप्रेती, धनप्रसाद केरुङ, पूर्व अध्यक्ष सुर्यप्रकाश उप्रेती, धुलावारी खानेपानीका अध्यक्ष अजय घिमिरे, नेकपा नेता देवकुमार राई, डिल्लीराम घिमिरे, माधव अर्याल, राजु दाहाल, कांग्रेस नेता सुरेन्द्र बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष सशिल आचार्य, संघिय समाजवादी फोरमका मेचीनगर अध्यक्ष प्रकाश खापुङ, प्रज्ञा प्रतिष्ठानकी सदस्य शुभद्र अर्याललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बुद्धिनाथ पौडेल, संस्थापक तमर राई, नेकपा नेता राजु कार्की, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, कांग्रेस नेता दुगाप्रसाद सापकोटा, चारआली खानेपानीका अध्यक्ष लालबहादुर थेबे, नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, पूर्व उपाध्यक्ष ज्ञानेन्द्र घिमिरे, वातावरण समूहका संयोजक दिलिप सुब्बालगायतको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष सारदा पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार पराजुलीले गरेका थिए ।
यो समचार तयार बनाउँदासम्म संस्थाको उद्घाटन समारोह सम्पन्न भएको थियो भने केही समयपछि बन्द सत्र सुरु हुनेछ ।

चुनावी साधारणसभा भएकाले बन्दसत्रले निर्वाचनसमति र निर्वाचन मिति तय चयन गर्नेछ भने आगामी योजनाहरु समेत निर्माण गर्नेछ ।

