झापा, जेठ १ । कोरोना संक्रमण तिब्र रुपमा फैलिए पछि त्यसको नियन्त्रणका लागि झापा पुरै ठप्प भएको छ । जिल्लास्थीत कोभिड १९ संक्रमण ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापाको बिहिबार अस्ती बसेको बैठकले वैशाख ३१ गते मध्यराति १२ बजेदेखि लागुहुने गरी जिल्लामा औषधी पसल र पेट्रोल पम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञा जारी गरेको एक साता भन्दा बढी समय बितिसक्दा समेत पनि जिल्लामा कोरोना संक्रमणको दर झन बढ्दै गए पछि थप कडाई गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
अब आजबाट सरकारी तथा अत्यावश्यक सेवाका कर्मचारीलाई बिहान ९ देखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म आवतजावत गर्न दिने र अन्य समय कसैलाई पनि हिडडुल गर्न नदिने निर्णय गरिएको डिसिसिएमसी झापाले जनाएको छ ।
खाद्यान्न लगायतका पसलाई समेत खोल्न रोक लगाइएको छ । डेरी उत्पादन र हरियो सागसब्जी र फलफुललाई स्थानीय पालिका र वाणिज्य संघहरुको समन्वयमा बिहान ८ बजे भित्र घर घरमा पुर्याउनु पर्नेछ भने सहकारी संस्थाहरुले घर घर पुगेर बचत संकलन गर्ने कार्य समेतलाई रोक लगाईएको छ ।

