संघ \संस्था

पत्रकार महासंघ झापाद्वारा सञ्चार क्षेत्रका समस्याबारे छलफल र पत्रकार उपचार सहयोग

झापा, असार २६ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिबार बिर्तामोडमा प्रादेशिक सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीबीच सञ्चार क्षेत्रका समस्याबारे छलफल र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं. १ का कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले काम गरिरहेको बताए ।

प्रतिष्ठानबाट सञ्चारकर्मी र सञ्चार संस्थाको हितमा विभिन्न कार्यक्रम सञ्चालन भएको र हुने बारे शर्माले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रतिष्ठानको तर्फबाट शर्माले कोरोना संक्रमित भई अस्पतालमा उपचार गराएका पत्रकार पर्वत पोर्तेललाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

महासंघ झापाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले जिल्लाको सञ्चार क्षेत्रको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृतहरु उपेन्द्र श्रेष्ठ, कोमल दहालको कार्यक्रममा आतिथ्य रहेको थियो ।

महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत प्रादेशिक सञ्चार प्रतिष्ठान बनाएर सञ्चार क्षेत्रको समग्र विकासका लागि कार्यक्रमहरु अघि बढाउँदै आएको छ ।

प्रतिष्ठानले कोरोनबाट निधन भएका पाँचथरका पत्रकार एकराज भण्डारीकी श्रीमती शर्मिला दहाललाई ५० हजार रुपैयाँ र कोरोना संक्रमित भई अस्तालमा उपचार गराएका इलामका पत्रकार बुद्धवीर राईलाई २५ हजार रुपैयाको चेक शनिवार नै सम्बन्धित जिल्लामै पुगेर हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानले कोरोनाबाट ज्यान गुमाउने पत्रकारको परिवारलाई ५० हजार र सात दिनभन्दा बढी अस्पतालमा अक्सिजनसहित उपचार गराएका पत्रकारलाई २५ हजार रुपैयाँको दरले सहयोग गर्ने निर्णय गरेको थियो ।