झापा, श्रावण २ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ ।
वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय भद्रपुरले जनाएको छ । कोभिड १९ को विषम परिस्थितिमा पनि कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आय करतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताउनुभयो ।
अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उहाँको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले रु तीन अर्ब एक करोडमात्र राजस्व सङ्कलन गरेको थियो ।

