संघ \संस्था

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह स्थगित

झापा, श्रावण २ । प्रेस सङ्गठन नेपाल झापाले साउन ७ गते वितरण गर्ने भनिएको डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह हाललाई स्थगित गरेको छ ।

सङ्गठनका संयोजक झुलन रेग्मीको अध्यक्षतामा शनिबार बिर्तामोडमा बसेको बैठकले कोरोना महामारीको बिषम परिस्थितिलाई मध्यनजर गर्दै पुरस्कार समारोह स्थगित गरेको हो ।

झापालगायत देशभर कोरोना संक्रमण दर बढिरहेको र प्रशासनले सभा सम्मेलनमा रोक लगाएका कारण कार्यक्रम केही समयका लागि सारिएको सङ्गठनका सचिव उद्धव पुरीले जानकारी दिए ।

प्रशासनले साउन ७ गतेसम्म झापामा निषेधाज्ञ जारी गरेको छ ।

क्रान्तिकारी विचारधाराका पत्रकार देवकुमार आचार्य (डी.कौडिन्य) लाई समाचार लेखेकै कारण तत्कालीन शाही सेनाले २०५९ साउन ७ गते चारआली व्यारेकमा हत्या गरेको थियो । उनैको सम्झनामा सङ्गठनले पुरस्कार स्थापना गरेको हो ।

कोरोना संक्रमणको दर केही कम भएपछि सङ्गठनको आगामी बैठकले पुरस्कार वितरण समारोहको मिति तय गर्ने भएको छ ।