खेलकुद

नेपाल जितविहीन फर्कंदै

एजेन्सी । एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग पनि ४-० गोल अन्तरले पराजित भएको हो ।

लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा जेइन फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २-० को अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८२ औं मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४-० को जित दिलाए ।

यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । तर, लेबनान अर्को चरणमा भने पुग्न सकेन । नेपाल जितविहीन रहँदै घर फर्किएको छ । समूह ‘बी’ को नेपालले अंक जोड्न सकेन ।

नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ । इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ताजिकिस्तान र इरानबीच आजै खेल हुनेछ । यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।