खेलकुद

आज ब्राजिल र जर्मनी बिच भिडन्त हुँदै

काठमाडौं, श्रावण ७ । जापानको टोकियोमा हिजोबाट सुरु भएको ओलम्पिक खेलकुद अन्तर्गत आजबाट पुरुष फुटबलका खेल सुरु हुँदैछन् । आज पहिलो दिन एकैदिन विभिन्न ८ खेल हुँदा एक खेलमा उपाधिका दुई दाबेदार टिमहरू ब्राजिल र जर्मनीको रोमाञ्चक भिडन्त पनि हेर्न पाइने छ । समूह ‘डी’मा रहेका यी दुई देशले पहिलो खेलमै एकअर्काको सामना आज गर्न लागेका हुन् ।

ब्राजिल र जर्मनीको खेल नेपाली समयअनुसार आज साँझ ५ः१५ बजेबाट सुरु हुनेछ । प्रतियोगिताका दुई ठूला र बलिया टिम समूह चरणमै भिड्ने भएकाले यो खेलमाथि धेरैको नजर रहनेछ । ब्राजिल र जर्मनी सिनियर टोलीमा पनि विश्व फुटबलका पावर हाउस मानिने हुँदा ओलम्पिक टिममा पनि त्यसको झल्को देखिनेछ । र, प्रतिष्ठाको रोमाञ्चक दृश्य मैदानमा देख्न पाइनेछ ।

समूह ‘डी’मा जर्मनी र ब्राजिलबाहेक आइभरी कोस्ट र साउदी अरेबिया रहेका छन् । यस समूहमा जर्मनी र ब्राजिललाई सबैभन्दा कठिन प्रतिस्पर्धी मानिएको छ । ओलम्पिक टिममा २३ वर्षभन्दा कम उमेरका युवा खेलाडी समावेश छन् । तर, नियमअनुसार ३ जना सिनियर टोलीका खेलाडी भने समावेश गन पाइनेछ । यही नियमअनुसार पूर्वच्याम्पियन ब्राजिल आफ्ना भेट्रान डिफेन्डर ड्यानी आल्भेसको कप्तानीमा ओलम्पिकमा होमिएको छ ।

आज समूह चरणको पहिलो खेलमै भिड्न लागेका ब्राजिल र जर्मनी दुवै पूर्व ओलम्पिक च्याम्पियन हुन् भने दुवै सिनियर टोली विश्व च्याम्पियन पनि हुन् । पछिल्लोपटक सन् २०१६ मा भएको ओलम्पिकमा पुरुष फुटबलतर्फ ब्राजिल च्याम्पियन बन्दै गोल्ड मेडल जितेको थियो । ब्राजिलले पहिलोपटक त्यसैबेला नेइमारको कप्तानीमा ओलम्पिकमा गोल्ड मेडल जितेको थियो ।

यता, जर्मनीले पनि ओलम्पिक फुटबलमा हालसम्म एकपटक गोल्ड मेडल जितेको छ । उसले सन् १९७६ मा पहिलोपटक गोल्ड मेडल जितेयता पुनः यो प्रतियोगिता जित्न सकेको छैन । यसपटक जर्मनीसँगै स्पेन, फ्रान्स, ब्राजिल, अर्जेन्टिना पनि गोल्ड मेडल जित्ने लक्ष्यसाथ जापान पुगेका छन् । यी सबैलाई उपाधिका लागि मुख्य दाबेदार मानिएको छ ।